पोखरामा आदिवासी जनजाति महिलाहरूको सिडसम्बन्धी क्षेत्रीय सम्वाद सम्पन्न

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१८ माघ २०७२, सोमवार


रूद्र श्रीसमगर
पोखरा, १८ माघ


नेपालका आदिवासी जनजाति महिलाका सम्बन्धमा सिड समितिको निष्कर्ष सुझावको कार्यान्वयनको स्थिति र नेपालले अब बुझाउने छैठौं आवधिक प्रतिवेदनको छायाँ प्रतिवेदन तयारीका लागि आइतबारदेखि पोखरामा सुरु दुई दिने क्षेत्रीय सम्वाद कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च, आदिवासी महिला कानुनी सचेतना समूह (इनोल्याग) र राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ, नेपालको संयुक्त आयोजनामा आइतबारदेखि सुरु सो क्षेत्रीय सम्वाद कार्यक्रममा आदिवासी महिला कानुनी सचेतना समूह (इनोल्याग)का अध्यक्ष शारदा सुब्बाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको दोस्रो दिन सोमबार पश्चिमाञ्चल क्षेत्रका आदिवासी जनजाति महिलाहरूले प्रत्यक्ष भोगेका विभेद तथा महिला हिंसाका बारेमा रणनीतिक छलफल गरिएको राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चका अध्यक्ष सुनी लामाले जानकारी दिनुभयो ।

राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ, नेपालका अध्यक्ष प्रतिमा गुरुङले सहजीकरण गर्नुभएको कार्यक्रममा सहभागी आदिवासी जनजाति महिला प्रतिनिधिहरूले महिलाविरुद्ध हुने भेदभाव उन्मूलन हेर्ने समिति (सिड)को निष्कर्ष कार्यान्वयन सम्बन्धमा आवधिक प्रतिवेदनका लागि छायाँ प्रतिवेदनका लागि तथ्यगत र प्रत्यक्ष भोगेका विभेद तथा हिंसाका घटनाका बारेमा सुझाव प्रस्तुत गरेका थिए । कार्यक्रमका सहभागीहरूले घरभित्र हुने हिंसा तथा विभेद सधैं ओझेलमा पर्ने गरेको र सामाजिक विभेद बढी हुने गरेको बताएका थिए ।
सो अवसरमा मञ्चका अध्यक्ष सुनी लामा, उपाध्यक्ष यशोकान्ति भट्टचन, राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघका अध्यक्ष प्रतिमा गुरुङ, आदिवासी महिला कानुनी सचेतना समूहका अध्यक्ष शारदा सुब्बालगायतले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया