को हुन् ह्योल्मो ?

नेपालका ५९ आदिवासीहरूमध्ये ह्योल्मो  जाति सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र धादिङ जिल्लाको उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने एक जाति हो । उनीहरू आफूलाई ह्योल्मो वा योल्मोपा भनेर चिनिन रुचाउँछन् । ह्योल्मो जाति बौद्ध मार्गी विशेषतः महायानी सम्प्रदायका हुन् । ह्योलको अर्थ हिमालले परिपरि घेरेको र मो को अर्थ देवी भन्ने हुन्छ । अर्थात् ज्योमो याङरी देवीले संरक्षण गरेको ठाउँ र त्यहाँ बसोबास गर्ने समुदाय नै ह्योल्मो भएको विश्वास छ । त्यसैले ह्योल्मो  क्षेत्र ह्योल्मो लगायत सम्पूर्ण बौद्ध मार्गीहरूको पवित्र तीर्थस्थलका रूपमा पनि लिइन्छ । साथै, यस क्षेत्रलाई अन्य दोर्जे लेग्पा, छिरिङ चेङा, गेङेन लेरु, ज्योवो छ्यती तथा टासी छिरिङमा देवीहरूले पनि संरक्षण गरिरहेको ह्योल्मोहरूको जनविश्वास छ ।

यस जातिको मौलिक संस्कृति तथा रहनसहन रहेको छ । १४औं शताब्दीभन्दा अघिका ऐतिहासिक प्रमाणअनुसार राजाहरूले ह्योल्मोका प्रमुख लामाहरूलाई सम्मान स्वरूप गुम्बा बनाई भोगचलनका लागि दिएका पाइन्छ । यस्तै, जग्गा, जंगल तथा खेतहरू दिएको प्रमाणका रूपमा ह्योल्मोको पुरानो गुम्बा चिरी, गोछाङ्गलिङ्ग, मिलिम्क्षिम, तार्केग्याङ, ग्याङयुल, ताहोङसा आदि गाउँका गुम्बाहरूमा रहेका सनकपत्र, ताम्रपत्र छन् । यी सबै गुम्बाहरू अहिले राजगुठीको रूपमा रहेका छन् । ह्योल्मो आदिवासीको संस्कृति, परम्परा, धर्म र रीतिरिवाज युल्ठिम प्रणालीअनुरूप चलिआएको छ । ह्योल्मोहरू वर्षभरि नै विभिन्न चाडपर्वहरू मनाउँछन् र पूजापाठहरू गरिरहन्छन् ।

ह्योल्मोहरूको सबैभन्दा ठूलो चाड सोनम लोसार हो । योल्मोपाहरूको हकअधिकार संरक्षणका लागि २०४७ सालदेखि नेपाल ह्योल्मो समाज सेवा संघको स्थापना भएको छ । यसले ह्योल्मोहरूको हक र हितको रक्षाका लागि कार्य गर्दै आएको छ । २०६८ सालको जनगणना अनुसार ह्योल्मोहरुको जनसंख्या १०,७१२ रहेको छ । ह्योल्मोहरूले बोल्ने भाषालाई ह्योल्मो भाषा भनिन्छ । उनीहरू साम्बोटा लिपि प्रयोग गर्दछन् । २०६८ सालको जनगणना अनुसार १०,१७६ जना ह्योल्मोहरुले आफ्नो मातृभाषा बोल्दछन् । ह्योल्मो समाज सेवा संघका अनुसार तर १ लाख ५० हजार भन्दावढीले ह्योल्मो भाषा बोल्दछन् । यो भाषा नेपालको ११ वटा जिल्लामा बसोबास गर्ने ह्योल्मोहरूले बोल्दै आएका छन् । यस्तै, नेपालबाहिर भारत, भुटानलगायत विभिन्न देशमा बसोबास गर्ने ह्योल्मोहरूको बोल्दछन् ।