को हुन् बराम ?

नेपाल सरकार, आदिवासी जनजाति उत्थान प्रतिष्ठान ऐन २०५८ अन्तर्गत सूचिकृत ५९ आदिवासी जनजातिमध्ये अतिसीमान्तकृत समूहमा पर्ने बराम जाति नेपालको गोरखा जिल्लाको मध्यपहाडी क्षेत्रका आदिवासी हुन् । सरल, सोझा, मझौला, गहुँगोरो मंगोलियन शारीरिक बनौट भएका बरामहरूको आफ्नै जीवन पद्धति, रहनसहन, भाषा, संस्कृति, जमिन, सामाजिक मूल्य तथा मान्यताहरू छन् ।

बराम जातिलाई बुझाउन बराम, बरामु शब्दहरू प्रयोग गरिएको पाइन्छ । जसमध्ये बराम र बरामु थरको रूपमा प्रयोग गर्दछन् । बरामहरूको बसोबास गोरखा, धादिङ, तनहुँ, मकवानपुर, चितवन, नुवाकोट, ललितपुर, नवलपरासी, बारा र सर्लाहीमा रहेको छ । यिनीहरूको मुलथलो भने गोरखा हो । गोरखाबाट बसाइँ सराईको क्रममा अन्य जिल्लाहरूमा पुगेका हुन् ।
बराम जाति मौलिक संस्कृति, संस्कृति, धर्म र भाषाका धनी जाति हुन् । उनीहरूको उत्पत्ति र विकासको विषय अत्यन्तै रोचक छ । विभिन्न विद्वान, मानवशास्त्री एवं समाजशास्त्रीहरूले बराम जातिको बारेमा विभिन्न प्रकारका व्याख्या र विश्लेषण गरेको पाइन्छ । सन् १८५७ मा हज्सनद्वारा लिखित इल अन हिमालयन आन्थ्रोपोलोजी भन्ने पुस्तकमा बरामहरू कालीगण्डकीभन्दा पूर्व घाग्रा क्षेत्रमा बसोबास गर्दथे भन्ने उल्लेख छ । मानवशास्त्री र समाजशास्त्रीहरूले बरामु वा बराम जातिको उत्पत्ति ब्रह्मपुत्रनदीलाई मानेका छन् । उनीहरूका अनुसार ब्रह्मपुत्रनदीको तिरैतिर दक्षिणतर्फ लागेको जाति भोट बर्मेली खलक हो । ती खलकहरूमध्येको एक बराम जाति हो ।
बरामहरू कुलदेवता चण्डी, भूमे, वनदेवता आदि देवीदेवताको पूजा गर्दछन् । पूजाआजा गर्न तथा दुःख बिमार हटाउन धामी झाँक्री चलाउँछन् । मृत्युमा ज्वाइँचेलाको उपस्थिति अनिवार्य हुन्छ । उनीहरूबाटै चोख्याउने चलन छ ।

जातीय सङ्ख्या र विवरण
बराम जातिको मुख्य बसोबास पश्चिम गोरखा र लमजुङको सीमाना भएर बग्ने चेपेनदी तथा गोरखा र धादिङको सीमाना भएर बग्ने बुढीगण्डकीनदीबीचको पहाडी भू–भागमा रहेको छ । बरामहरू त्यही भू–भागका आदिवासी हुन् । २०५८ सालको जनगणनाको तथ्याङ्कअनुसार २९ जिल्लामा बराम जातिको बसोबास रहेको छ भने २०६८ सालको जनगणनाको तथ्याङ्कमा जिल्लागतरूपमा राखिएको छैन । २०६८ सालको जनगणनाअनुसार बरामहरूको जनसङ्ख्या ८,१४० रहेको छ ।
गोरखा जिल्लाको एक नगरपालिकासहित २६ गाविसमा बरामहरूको उल्लेख्य बसोबास छ । यसमा पनि निर्वाचन क्षेत्र नं. ३ मा सघनरूपमा बरामहरूको बसोबास रहेको छ । गोरखाबाहेक ललितपुरको ठूला दुर्लुङ, गिम्दी आदि गाविस, चितवन तथा धादिङको नलाङ, खाल्टे, वेनिघाट, नुवाकोटको थानापति, थानसिंङ, मकवानापुरको फापरबारी आदि गाविसमा बरामहरूको बाक्लो बसोबास रहेको पाइन्छ । तथ्याङ्कमा देखाइएको बझाङ, कैलालीजस्ता ठाउँमा बरामहरूको जातीय संस्थाको पहुँच पुग्न सकेको छैन । त्यहाँको वास्तविकता अध्ययनको क्रममामै छ । मध्यगोरखाको ताकुकोट, पन्द्रुङ, मसेल आदि गाविसमा मात्र बराम भाषा ‘बालकुरा’ बोल्ने गरिएको छ । त्यसमा पनि ताकुकोट गाविस मात्र व्यवाहारिक प्रयोगमा बालकुरा जीवित छ ।

बालकुराको अवस्था
बरामहरूको आफ्नै भाषा छ । जसलाई बरामहरू ‘बालकुरा’ भन्दछन् । उनीहरू यसमा आत्मसम्मान ठान्दछन । बराम समुदायसँगै बसोबास गरेका गैरबरामहरू समेतले बराम भाषालाई बालकुरा नै भन्दछन । अध्ययन अनुसन्धानमा गएका व्यक्तिले मात्र बरामहरूले बोल्ने भाषालाई ‘बराम भाषा’ भनेका हुन् ।

नेपालको १२÷१३ जिल्लाहरूमा बरामहरूको बसोबास रहेता पनि बालकुरा गोरखाको ताकुकोट र पन्द्रुङ गाविसका केही गाउँमा मात्र बोलिन्छ । बालकुराको अर्थ मान्छेको भाषा भन्ने हुन्छ । भोट–बर्मेली परिवारका भाषाहरूको विभिन्न वर्गीकरणमा बराम भाषालाई पनि समावेश गरेको पाइन्छ । बालकुराको सबैभन्दा नजिकको वंशगत सम्बन्ध भएको भाषा थामी हो । थामी भाषा नेपालको दोलखालगायत आसपासको क्षेत्र र भारतको दार्जिलिङमा बोलिन्छ । सेफर (१९६६)ले बराम र थामी भाषाहरू एउटै समूहमा पर्ने कुरालाई स्वीकार गर्दछन् । उनले दुवै भाषाहरूलाई ‘बोडिक शाखा’को ‘पश्चिम हिमाली उपशाखा’अन्तर्गत राखेका छन् ।

वि.सं. २०५८ सालको तथ्याङ्कमा बालकुराका वक्ता ३४२ जना रहेको छ । यो बरामहरूको कुल जनसङ्ख्याको ४.४ प्रतिशत हो । तर, यो तथ्याङ्क विश्वासनीय छैन । किनकि, बालकुराका वक्ता रहेको स्थानमा बरामको जनसङ्ख्या नै छैन भने बराम भएको ठाउँमा बालकुरा नै लोप भइसकेको देखाइएको छ । २०६८ सालको तथ्याङ्कअनुसार बालकुराका वक्ता १५५ जना रहेका छन् । यो बरामहरूको कुल जनसङ्ख्याको १.९० प्रतिशत हो । कुल १५५ जनामध्ये ५८ जना पुरुष र ९७ जना महिला रहेका छन् । पूर्वाञ्चलमा २६ पुरुष र ४० महिला गरी ६६ जना बरामले मातृभाषा ‘बालकुरा’ प्रयोग गर्छन् । मध्यमाञ्चलमा ६ पुरुष र ७ महिला गरी १३ जनाले ‘बालकुरा’ बोल्छन् भने पश्चिमाञ्चलमा १३ पुरुष र १९ महिला गरी ३२ जना बरामले मातृभाषा ‘बालकुरा’ जान्दछन् । त्यस्तै, मध्य पश्चिमाञ्चलमा ६ पुरुष र ४ महिला गरी १० जना बरामले ‘बालकुरा’ प्रयोग गर्छन् र सुदूर पश्चिममा ७ पुरुष र २७ महिला गरी ३४ जनाले बराम भाषा ‘बालकुरा’ बोल्ने गरेको तथ्याङ्कले देखाएको छ ।

यो तथ्याङ्क पनि विश्वासनीय छैन । बरामहरूको साझा जातीय संस्था नेपाल बराम संघले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आर्थिक सहयोगमा १० जिल्लामा गरेको तथ्याङ्क संकलनअनुसार बालकुराका वक्ता २१,७३९ रहेको छ । अहिले बालकुरा लोपोन्मुख अवस्थामा छ । त्यसैले बालकुरालाई संरक्षण गर्न विद्यालयमा बालकुरालाई पठनपाठनको माध्यम बनाउनु अत्यावश्यक छ । यस्तै, सरकारले बालकुरा संरक्षणका लागि तत्काल ठोस नीति अख्तियार गरी कार्यान्वयन गर्नु जरुरी छ  ।

गलत पक्ष के भने सुदूर पश्चिममा बरामको जनसङ्ख्या १३ जना छन् । तर, ३४ जना ‘बालकुरा’का वक्ता रहेको तथ्याङ्कमा उल्लेख छ । यो कुरा विचारणीय छ । किनकि, यो तथ्याङक गलत छ वा गैरबरामले बालकुरा बोल्छन् । बराम भाषा नै मृत्युप्रायः भएको अवस्थामा गैरबरामले बालकुरा बोल्नु अपत्यारिलो हुन्छ ।

तालिका नं. १

विकास क्षेत्रबरामको सङ्ख्या  ‘बालकुरा’ बोल्नेको सङ्ख्या
पूर्वाञ्चल१७७  ६६
मध्यमाञ्चल ९०९ १३
पश्चिमाञ्चल ६,९९३३२
मध्यपश्मिाञ्चल४८१०
सुदूरपश्चिमाञ्चल१३३४
जम्मा८,१४० १५५

तालिका नं. २
 

विकास क्षेत्र‘बालकुरा’ बोल्ने पुरुषको सङ्ख्या‘बालकुरा’बोल्ने महिलाको सङ्ख्या‘बालकुरा’ बोल्नेको जम्मा सङ्ख्या
पूर्वाञ्चल२६४० ६६
मध्यमाञ्चल६  १३
पश्चिमाञ्चल१३१९३२
मध्यपश्मिाञ्चल१०
सुदूरपश्चिमाञ्चल २७३४
जम्मा५८९७ १५५

‘बालकुरा’का वक्ता भएका मुलुक
बराम भाषा ‘बालकुरा’बारे हमलसम्म बृहत् अध्ययन भएको छैन । यसकारण यो भाषाका वक्ताहरू भएको मुलुकबारे उल्लेख गर्न सकिँदैन ।